काठमाडौँ – सन् १९७७ मा आजकै दिन (फेब्रुअरी २) मा कोलम्बियाली गायिका तथा अभिनेत्री शाकिराको जन्म भएको थियो । ‘क्वीन अफ ल्याटिन म्युजिक’ को उपनामले चर्चित शाकिराको पूरा नाम शाकिरा इसाबेल मेबारक रिपोल हो ।
शाकिरा खासगरी अंग्रेजी र स्पेनिस भाषा बोल्ने श्रोता/दर्शकमाझ निकै लोकप्रिय छिन् । कोलम्बियाको बारानक्विलामा जन्मिएकी शाकिराले १३ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा सांगीतिक क्षेत्रमा लागेकी थिइन् । उनले १९९० मा सोनी म्युजिक कोलम्बियाका लागि पहिलो गीत रेकर्ड गराएकी थिइन् ।
शाकिराका सुरुका दुई एल्बम ‘मागिआ (१९९१)’ र ‘पेलिग्रो (१९९३)’ व्यावसायिक रूपमा असफल रहेका थिए । तर त्यसपछिका एल्बमहरू ‘पिएज डेस्काल्जोस (१९९५)’ र ‘ डोन्डे स्तान लस (१९९८)’ बाट भने उनी स्पेनिस भाषाका श्रोतामाझ निकै लोकप्रिय बनिन् । २००१ को ‘लाउन्ड्री सर्भिस’ एल्बमसँगै शाकिरा अंग्रेजी श्रोतामाझ छाएकी हुन् । उक्त एल्मब १ करोड १३ लाख प्रति बिक्री भएको थियो ।
शाकिरा २१ औं शताब्दीकी निकै प्रभावशाली महिला कलाकार मानिन्छिन् । उनले ल्याटिन अमेरिकी देशमा सीमित कलाकारका लागि अन्तर्राष्ट्रिय बजारको ढोका खुला गरेको ठान्छिन् । जसका कारण एमटीभीले २०२२ मा शाकिरालाई संगीतको इतिहासमा सबैभन्दा प्रभावशाली गायिकाको सूचीमा समावेश गरेको थियो । शाकिरा उक्त सूचीमा समावेश हुने एक मात्र ल्याटिन अमेरिकी गायिका हुन् ।







