काठमाडौँ – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण चलचित्र ऐन पास नहुनु रहेको बताएका छन्।
आइतवारदेखि मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेसम्म चलचित्र क्षेत्र विकास हुन नसक्नुको जड चलचित्र ऐन पारित नहुनु रहेको बताए।
उनले अहिले विकास बोर्डले विभिन्न समस्या केलाएर चलचित्र ऐनको अन्तिम ड्राफ्ट तयार पारेको बताए। उनले पहिला पनि मन्त्रालयमा ऐन पठाइएकोमा चलचित्रको स्वायत्तताको विषयमा काटिएर आएका कारण पुनः पठाउने तयारी गरेको बताए। उनले नयाँ ड्राफ्टमा स्वायत्तताको मागलाई प्राथमिकतामा राखिएको जिकिर गरे।
उनले भने, ‘चलचित्र विकास बोर्डमा म गएको दिनदेखि मैले महसुस गरेको कुरा के हो भने चलचित्र क्षेत्र धेरै अगाडि बढिसक्नुपर्ने थियो। त्यो अहिलेसम्म अगाडि बढ्न नसक्नुको जड कारण चलचित्र ऐन पास नहुनु नै हो। त्यो ऐनभित्र विभिन्न समस्याको समाधान त्यसमा खोजिएको छ। यसपालि हामीले चलचित्र ऐन, मन्त्रालयमा अन्तिम ड्राफ्ट तयार पारेर पठाएका छौँ। सरोकारवालाहरूको सरसल्लाह बमोजिम पठाएका छौँ। पहिला पठाएको ड्राफ्टमा चलचित्रको स्वायत्तताको विषयमा काटिएर आएको रहेछ।’
अध्यक्ष केसीले चलचित्र विकास बोर्डलाई दिइएका अधिकार प्रयोग गरी राम्रा काम अघि बढाइरहेको बताए।







