काठमाडौँ- आख्यानकार तथा समालोचक डा. अम्बिका अर्यालको मुक्तक सङ्ग्रह भावदीप लोकार्पण भएको छ । नारी साहित्यकार एवम् समालोचकहरूद्वारा स्थापित ज्ञानचक्षु साहित्य प्रतिष्ठानको आयोजनामा घटस्थापनाका दिन पद्मकन्या क्याम्पसको डेनिस हलमा भएको उक्त कार्यक्रममा कन्याहरूको हातबाट कृतिको लोकार्पण गरिएको थियो ।
नेपाली साहित्यमा नारी सहभागितालाई प्रभावकारी बनाउने उद्देश्यले स्थापित प्रतिष्ठानको आयोजना भएकाले उक्त कार्यक्रमका अध्यक्ष, सञ्चालक एवम् समीक्षक पनि नारीस्रष्टाहरू थिए ।
समीक्षक मनमाया पोखरेलले नारीचेतनाका दृष्टिबाट र दिव्येश्वरी जोशीले शिल्पपक्षका आधारमा लोकार्पित कृतिको समीक्षा गरेका थिए भने डा. शान्तिमाया गिरीले विषयवस्तु र समसायिकताबारे प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा अर्यालको नवीनतम कृति भावदीपबाट केही मुक्तक वाचन गरिएको थियो । प्रतिष्ठानका तर्फबाट राधिका गुरागाईं र रमा के.सी.ले लोकार्पित कृतिका मुक्तक वाचन गरेका थिए भने सहभागीका तर्फबाट साहित्यकार एवम् सञ्चारकर्मी द्वय हेम भण्डारी र भगवती बस्नेत साथै साहित्यकार तथा सङ्गीतकार सन्तोष श्रेष्ठले पनि केही मुक्तक वाचन गरेका थिए । वरिष्ठ साहित्यकार पुष्कर लोहनीले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमका अध्यक्षता डा. शान्तिमाया गिरी र सञ्चालन उषा आचार्यले गरेका थिए
।
नेपाली उपन्यासमा नारीचेतना विषयमा विद्यावारिधि गरेकी डा. अर्यालका यसअघि अविश्रान्त (२०७५) उपन्यासलगायत आधा दर्जनजति समालोचना कृति प्रकाशित भइसकेका छन् ।