काठमाडौँ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४सैं घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो ।
‘दिउँसो समय नहुने विद्यार्थीकालागि हामीले सहजता उपलब्ध गराउने उद्देश्यले रातभर नै पुस्तकालयको अध्ययन कक्ष सञ्चालन ल्याएको हौँ’, सुवेदीले भने, ‘राति एक समूहका विद्यार्थी आउने गरेका छन् ।’
पुस्तकालयको सदस्यता लिएका जोकोही पनि राति आएर पढ्न पाउने शर्माले जानकारी र्दिए । ‘रू एक हजारमा एक वर्षको, रू छ सयमा छ महिनाको पुस्तकालयको सदस्यता बन्न सकिन्छ’, उनले भने, ‘त्रिविका विद्यार्थीबाहेक सात सय पुस्तकालयको सदस्यता बनेका छन् ।’
पुस्तकालय अधिकृत शर्माले राति पढ्ने विद्यार्थी प्रायजसो एकाग्रह भएर पढ्ने खालका, घरमा पढ्ने वातावरण नभएका आउने गरेका बताए । ‘खाना खाएर विद्यार्थी अध्ययन कक्षमा लगातार पढ्ने गरेका छन्’, उनले भने, ‘अहिले धेरैजसो वरिपरिका विद्यार्थी नै रहेका छन् ।’
शर्माका अनुसार राति पढ्ने विद्यार्थीका लागि सिटीलाइट, बस र खाजा खाने क्यान्टिनलगायतको समस्या रहेको छ । पुस्तकालयको मुख्य भवन पनि खुल्ने समय बढाइएको उनको भनाइ थियो ।
पुस्तकालयको सदस्यता लिएकाले बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म अध्ययन गर्न पाउने जनाउँदै शर्माले यसअघि मुख्य भवनमा रहेको पुस्तकालय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र सञ्चालन हुने गरेको बताए ।
स्ववियु सचिव सिद्धान्त भट्टले विद्यार्थीलाई ध्यानमा राखेर पुस्तकालयको खुल्ने समय बढाइएको बताए । ‘विश्वविद्यालयका विद्यार्थीमा पढ्ने संस्कृतिको विकास होस् भन्ने उद्देश्यले पुस्तकालय २४सै घण्टा खोल्न पहल गरेका हौँ’, उनले भने, ‘२४सैं घण्टा पुस्तकालय खोल्दा अन्य विश्वविद्यालयका विद्यार्थी पनि आएर खोज अनुसन्धान विषयमा अध्ययन गर्न पाएका छन् ।’
भट्टले पुस्तकालयका २४सैं घण्टा खोले पनि पनि पढ्ने विद्यार्थीलाई क्यान्टिन नहुँदा रातिपख चिया, खाजाको समस्या रहेको बताए । उनका अनुसार अहिले पुस्तकालयमा चार लाख ४० हजार राष्ट्रिय र अन्तर्राष्ट्रिय पुस्तक रहेका छन् ।
पुस्तकालयको सदस्यता बनेका जोकोहीले पनि ती पुस्तक घरमा लगेर पढ्न पाउनुका साथै अनलाइनका माध्ययबाट पनि पुस्तक पढ्न पाउनेछन् । यहाँ दैनिक सात सयभन्दा बढी विद्यार्थी पढ्न आउने गरेका छन् ।
नयाँ भवनमा पुस्तकालय
पुस्तकालयका निमित्त प्रमुख सुवेदीका अनुसार आगामी महिनादेखि पुस्तकालय नयाँ भवनमा सर्ने बताए । अपाङ्गमैत्री साढे चार तलाको अत्याधुनिक भवनमा पुस्तकालय सर्ने उनले जानकारी दिए । उनका अनुसार नयाँ भवनमा एकै पटक दुई हजार विद्यार्थी पढ्न मिल्नेछ ।







