तिमी नै तिमी
मेरो मन मुटु भित्र
अरु कोहि नारी नै छैन
तिमीले मेरो साम्राज्यमा राज गर
किनकि म भित्र तिमी नै तिमी
तिम्रो बियोगमा सहनै नसक्ने गरि
मन दुख्छ,मुटु निचोरिन्छ,छाति चिरिन्छ
रिसाएको गोरूजस्तै फन्किन मन लाग्छ
के अझै पनि तिमीलाई थाहा छैन ?
जहाँ पबित्र प्रेम हुन्छ
त्यही नै धन र सफलता हुन्छ
म तिम्रो मायामा ताराहरू
पर क्षितिजका बत्तिहरू
जस्तै पिल पिल रुन होइन
दुखका सबै आँसुहरू सकेर
सधै भरी जुँन जस्तै हास्न चाहन्छु
बगरमा हुत्तिएको बालुवा होइन
समुन्द्रमा तैरिएको अनमोल मोति
र हीराझै टिलिक्क टल्कन चाहन्छु
किनकि म भित्र”तिमी नै तिमी”।
।।१।।
बुज्रुकहरु बाट सुनेको थिएँ
नारी लहरा र पुरूष थाँक्राे हो
तर यो कलीमा उल्टिएछ
अब त पुरूष लहरा र नारी थाक्रो
मेरो बुझाई नै मिथ्या रहेछ
कति मनलाई सधै थामथुम पार्नु
अनि कति रगतले प्रेमका मर्मस्पर्शी
कहानीहरू लेख्दै जानु, लेख्दै जानु
म हिडदै छु र हिडिरहेको छु
सानु केबल तिमी मै हराउदै
प्रेम बियोगमा डराउदै, निस्सासिदै
यो जिन्दगी किन किन ? पुरै अजनबी
तर समयको गति अति छिटो
अनि रातभर निद हराम
मनमा आकाङ्क्षा अनेकौ
दर्द पीडा र ब्यथाहरू हजारौ हजार
तर पनि अलिकति यो जिन्दगी मजेदार
किनकि म भित्र”तिमी नै तीमी”।।
।। २।।
यो संसार सारामा
कसैले कसैलाई पनि उमेर हेरेर
मायामा परेको हुदैन प्रेम गर्दैन
प्रेम त त्यो अमुर्त र सास्वत्व भाबना हो
आपसी सदभाब,सहयोग,सहयात्रा
समझदारी र अन्तर हृदयको लगाब हो
चाहना हो त्याग हो, समर्पण हो,उत्सर्ग हो
दुई आत्माको मिलन हो
दुई शरिर एक हुनु हो
त्यसैले दिल जागेपछि आखामा आकर्षण लागेपछि
उमेर हेरिदैन आखिर मन न हो।
तिमीले मेरो अन्तर मनको भाबना नबुझे पनि मेरो यहि कलमले मात्र
बुझन सक्छ वास्तविक पीडा र दर्द
साउनमा पनि एक्लै जलिरहेको हुन्छु
तिमी बिना आगो जलेझै,जेठमा पनि
लुगलुग कामिरहेको हुन्छु पुसको सिरेटो जस्तै
ऐना भन्दै छ तेरो आँखा भिजेको छ
छाँयाले पनि अब साथ छोडदै छ
तर म चाहन्छु प्रिय सानु !
हाम्रो प्रेम कहानी कुनै किताबको पानामा होइन
एउटा सिङ्गै ग्रन्थ बनोस
दिलको पुस्तकालयमा हिउँझै जमोस
शाहजँहा-मुमताज,सिरि-फरियाद
लैला-मजनु,हीर-राँझा, रोमियो- जुलियट
राधा-कृष्ण र सत्यवान- साबित्रीका
प्रेम कहानीहरू सबै सबै फिका बनुन
हाम्रो प्रेम गाथा स्वर्ण अक्षरले लेखियोस
कहिल्यै खिया नलागोस, नमेटियोस
किनकि म भित्र”तिमी नै तिमी”।
।।३।।







