काठमाडौँ- ह्वाट्सएपले नयाँ अपडेटमार्फत सोझै फोन नम्बरमा च्याट गर्न सकिने सुविधा ल्याएको छ । आइतबार सार्वजनिक भएको ह्वाट्सएपको पछिल्लो अपडेटसँगै अब कसैसँग च्याट गर्दा नम्बर सेभ गर्न नपर्ने भएको हाे ।
यसअघि ह्वाट्सएपमा कसैसँग च्याट गर्नुपर्यो भने नम्बर सेभ गर्नुपर्ने बाध्यता थियो । त्यसबाहेक पनि केही प्रयोगकर्ता ट्रुकलर वा ब्राउजर प्रयोग गरी ह्वाट्सएपको नम्बरमा च्याट गर्ने गर्थे । अब फोनमा नम्बर डायल गरी मेसेज पठाएजस्तै ह्वाट्सपमा पनि सोझै नम्बर डायल गरेर च्याट, अडियो तथा भिडिओ कल गर्न सकिन्छ ।
सबैभन्दा पहिले ह्वाट्सएप खोल्ने त्यसपछि तलपट्टि भएको मेसेजको आइकनमा थिच्ने अनि माथि रहेको सर्चको आइकनमा गएर छेउमा भएको किप्याडको आइकनमा थिच्ने (सोझै सर्च नेम अर फोन नम्बर भनेको ठाउँमा नम्बर पेस्ट गर्दा पनि च्याट गर्न सकिन्छ ।) त्यसपछि आफूले च्याट गर्न चाहेको नम्बर डायल गर्ने । यति भएपछि उक्त नम्बरको छेउमा च्याटको बटन देख्न सकिन्छ । उक्त बटनमा ट्याप गरिसकेपछि सोझै च्याट, अडियो कल र भिडिओ कल गर्न सकिन्छ ।







