कास्की – पोखरामा तीनदिने नेपाली नाटक प्रथम अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ।
नेपालका ८० र भारतका ४० वरिष्ठ नाट्यकर्मीको सहभागिता रहेको सेमिनारमा नेपाली नाटकलाई समसामयिकतर्फ ढाल्न तथा विविध पक्षका बारेमा भारतीय नाट्यकर्मीले १० वटा र नेपाली नाट्यकर्मीले आठवटा कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ। कार्यपत्रमाथि छलफल चलाउने जानकारी आयोजक संस्था नेपाल नाट्य प्रतिष्ठान पोखरा नेपालले दिएको हो।
समाज र नाटकको बीचमा घनिष्ट सम्बन्ध रहेको छ। नाटककारले समाजका विकृतिअन्तर्गत सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक विद्रुपता, असङ्गत मानवीय सम्बन्ध, बेरोजगारीका कारण सिर्जना गरेको असुरक्षित भविष्य, स्त्री र पुरुषको बीचमा विकसित जटिलतालाई चित्रण गर्ने गरेका छन्।
नेपाली नाटकलाई विविध पक्षबाट परिस्कृत गर्न प्राडा रामचन्द्र पोखरेल, प्राडा सावित्री मल्ल कक्षपति, नवीन पौड्याल (भारत), डा. अशोक थापा, डा. वीरबहादुर विश्वकर्मा (भारत), ताराप्रासाद पोखरेल, पूर्णकुमार शर्मा (भारत) लगायतले कार्यपत्र प्रस्तुत गर्नेछन्। समीक्षक डा. कृष्णराज घतानी, डा. नेत्र एटम, प्राडा दयाराम श्रेष्ठलगायत रहने बताइएको छ।
सेमिनारको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रंगकर्म, नाट्य लेखन र प्रदर्शनको परस्पर सम्बन्धको प्रतिफल भएको बताए। नाटक पाठ्य र दृश्य दुवै रुप हुने हुँदा पढेर अनुभव गरेको विचारले भन्दा रंगकर्मको प्रत्यक्ष साक्षात्कारबाट प्राप्त विचार सशक्त हुने आचार्यको भनाइ छ।
कला, साहित्य ताथ सांस्कृतिकरूपमा पोखरा असाध्यै धनी भएकाले पोखरालाई नाट्य क्षेत्रबाट पनि चिनाउन जरुरी भएको उनले बताए। नाट्यकर्मी प्राडा दयाराम श्रेष्ठले समसामयिक नाटकमा गम्भीर कथावस्तु, गतिशील चरित्र, विचारशील निर्देशन र सचेत अभिनेता प्रयोग हुनुपर्नेमा जोड दिए।
वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, वरिष्ठ सर्जक सरुभक्त क्षेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालर हिसनबहादुर थापा मगरलगायतले भनाइ राखेका थिए।