पर्वत – यस बर्षको मोहनबहादुर मल्ल स्मृति पुरस्कारबाट तीनजना महिला साहित्यकार पुरस्कृत भएका छन् ।
साहित्यकार मोहन बहादुर मल्लको ११२औं जन्मजयन्तीको अवसरमा सोमबार पर्वतमा आयोजित कार्यक्रममा साहित्यकारहरु उषा आचार्य ढकाल, गंगा आचार्य सापकोटा र रेणुका जिसीलाई पुरस्कृत गरिएको हो ।
मोहनबहादुर मल्ल स्मृती समितिका अध्यक्ष दीपक मल्ल र जलजला गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले संयुक्तरुपमा ढकाल, सापकोटा र जिसीलाई नगद रकम सहित प्रशंसापत्र प्रदान गरेका थिए ।
पर्वत जिल्लाको मल्लाजमा जन्मिएर साहित्यको माध्यमबाट यस स्थानलाई चिनाउन योगदान गरेबापत उहाँहरुलाई पुरस्कृत गरिएको समितिका सचिव अजय मिलन श्रेष्ठले बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष आचार्यले स्व. मल्लले भाषा, साहित्य, कला लगायतका सामाजिक तथा राजनैतिक क्षेत्रमा दिएकाे याेगदान बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा सम्मानित साहित्यकारहरु सहित मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका सचिव गोपाल प्रसाद आचार्य लगायतका व्यक्तित्वहरुले आफ्नो मन्तव्य राखेका थिए ।
मोहन बहादुर मल्ल स्मृति पुरस्कार विगत तीन वर्ष देखि हरेक बर्ष प्रदान गरिदै आएको छ ।







