- जीवन आचार्य निश्चल
मनको क्या रहरै रहरमा रहर आयो
बल्लतल्ल नदी छिचोल्यो, खण्डहर आयो
हिजोको दोषी अनसन बस्यो जेलमा
आज नै सजाय–मुक्तिको खबर आयो
प्रियालाई दिल राखेर गुलाफ पठाएँ
उनको जवाफमा किन पत्थर आयो ?
आसै–आसमा मृत्युवरण गरे बाआमाले
वर्षौँवर्षपछि बल्लतल्ल छोरो घर आयो
चोरी हुँदासम्म त धानेका रहेछौँ हामीले
दूध पिएर जो सरकारमा तस्कर आयो
वीरबल खोज्दै थिए आँखा चारैतिर
हा…हा.. हाँस्दै महामहिम अकबर आयो
पानी आउन सकेन कैयौँ प्रयास गर्दा
तर, उकालो बाटो हुँदै नहर आयो
देखेपछि स्वप्नमा मञ्जरी प्रियालाई
बनेर यो मनमा अनौठो प्रहर आयो
यात्रामा निस्किएको छ जीवन आज
जीवनको नजिकै प्रियाको नगर आयो
फक्रेको छ बगानमा मीठो बैँस पनि
सुगन्ध आयो, नजरमा नजर आयो
उनले नि सँगै हुन्छु भनेर छाडिन्
बनेर प्रेम मनमा मेरो अल्सर आयो
नआउने भन्दै थियो हिजो प्रेमी मलाई
किन यो दिलको ठाउँमा भर्खर आयो ?
को–को कसका हुन् ? कसका कोको हुन् ?
सम्बन्ध बिग्रेको अदालती खबर जब्बर आयो
वाल्मीकिजस्ता प्रेमका पुजारीहरू
मञ्जरीको प्रेमी बनेर रत्नाकर आयो
तिमी फक्रियौ, सुवास छर्यौ, आह ! मीठो
कसको बोलीको दूषित करकर आयो ?
सँगै हुर्कियौँ र माया साट्यौँ, एक भयौँ
सम्झनाले मनमा त बेअसर आयो
मञ्जरी तिम्रो दिल जब पत्थर बन्यो
मेरो मन लाइटरसँगै पत्कर आयो
पाठशाला पढेका केटाकेटीछेउ आज
रत्नाकर बनेर वाल्मीकि सरासर आयो
घना वन फक्रेको एक्लो जवानी र याद
चञ्चल मनमा अनौठौ डर आयो
समस्या प्रश्नचिह्नमा उभियो र कैँची बन्यो
अहो ! सजिलो प्रश्नको जटिल उत्तर आयो
घरदेश बिर्सियौ तिमीले घरदेशलाई पर्दा
आज आपत् पर्दा घरको याद झर्झर आयो
तिमीले छाडेर गएको वर्षौँ भयो प्रिया
नियालेर हेर छाती बाढीको लहर आयो
तपाईंले कहिल्यै सोच्नुभएको होला यसरी
एउटै मन बनेर बुद्ध, कहिले हिटलर आयो
जङ्गलबाट फुत्त एउटा यो बाँदर सडकमा
उसको पछाडि–पछाडि सयौँ लस्कर आयो
कमिलाले रुवाउँछ हात्तीलाई बुझ्नुहोस् त
तपाईँको लागि त हात्ती भयङ्कर आयो
पु¥याउनु छ समय–अगावै गन्तव्यमा जीवन
न गन्तव्य, न त मान्नै पर्ने धरोहर आयो
जसले धोका दिन्छन् आजकल मान्छेलाई
उसका लागि नै त विश्वास सँगै भर आयो
हराउँदैन भन्थ्यौ हरायो आँखाअगाडि नै
मानवता हरायो, पहिले आडम्बर आयो
तिमी नै भन त मञ्जरी, म के गरौँ तिमी मै छ
पिऊँ कि नपिऊँ प्रिया प्यालामा जहर आयो !
पालो कुर्दाकुर्दै जीवन खरानी भएपछि
‘जीवन’को अनि बल्लतल्ल अवसर आयो ।
कहाँ पुग्ने हो? कसरी पुग्ने हो जीवन ?
यात्रीको सफरमा लामो सफर आयो
वर्षौँको मेहनत र पसिना खर्च गरेर
कति टिक्छ बगरमा ? बालुवाको भर आयो
टीका, चुरा, पोते, रातो गुन्यू–चोलीले
अहा ! मञ्जरी मुहार सुन्दर आयो !
गुणन, भागा, जोड र घटाउ के गरौँ ?
बाध्यताको शृङ्खलामा कहर आयो
म पनि सँगैसँगै जल्छु क्यार जीवन
लाइटर बनेर हिँडेँ, अघि खर आयो
म उनको एकै नजरमा फसेँ प्रिया
कस्तो हो जीवन, मोहनी मन्तर आयो
किनार काटेर बग्यो जीवन नदीझैँ
उसको दुवैछेउ सुख्खा बगर आयो
रोग निको होला भनेको गाँजियो झन्झन्
ओखतीको असरले उल्टो अभर आयो
देख्दा वसन्त देख्नुहुन्छ सधैँ तपाईँ
जीवनलाई सिध्याउन जीवनकै सहचर आयो
समयले डोर्याएको बाटोको छेउछाउमा
बैसाखी, अन्धा, बहिराको शहर आयो
नजर मन–मन नजर जस्तो छ, कहाँ ?
कञ्चन मन हुनेकै दूषित जाँगर आयो
पृथ्वीजस्तो लाग्छ नि मान्छेको मन पनि
शरद्, गृष्म, वसन्त, कतै भने बञ्जर आयो
तिमी आफ्नो हतियार साँध लगाऊ अब
तिम्रो अवसरको खबर बोकेर गुप्तचर आयो
सबै सम्पन्न छन् भन्छौ गाउँमा तिमीहरू
यता सपनामाथि नै बारम्बार कसर आयो







