काठमाडौं – दुर्गा ढकालको कविता संग्रह ‘अक्षरको पराकम्पन’ लोकार्पण गरिएको छ ।नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा एक समारोहबीच साहित्य प्रतिष्ठानले प्रकाशन गरेको कविता संग्रहको लोकार्पण गरिएको हो ।
प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, प्रा.डा. रमेश भट्टराई, प्रा.डा. सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार युवराज नयाँघरेले संयुक्त रूपमा कविता संग्रहको लोकार्पण गरेका थिए । १४ वर्ष विदेशी भूमिमा बसेर नेपाली साहित्यलाई माया गरेर कविता संग्रह ल्याउनु आफैंमा सुन्दर कार्य रहेको कार्यक्रममा उपस्थित वक्ताहरूले बताएका थिए ।
कूलपति गंगाप्रसाद उप्रेतीले ‘कविता एउटा विचार हो’ भन्दै जो जहाँ गए पनि मानिसले आफ्नो भूगोल, संस्कार, संस्कृतिको माया गर्ने बताए । उनले कुनै पनि घटनाले मानिसलाई संवेदनशील बनाउने र तिनै भावनाका त्यान्द्राहरू कलममा जागृत हुने उनको भनाइ थियो ।
साहित्यकार युवराज नयाँघरेले कविता लेखन सामान्य कुरा नभई आफैंमा दुष्साहस भएको र लेखिका ढकालले आफ्ना भावना पुस्तकमा पोख्न सकेकोमा खुशी व्यक्त गरे ।
सामाजिक अभियान्ता समेत रहेकी लेखिका ढकालले लामो समयसम्म विदेशी भूमिमा बस्दा पीडा धेरै हुने भन्दै कविता सजिलै सिर्जना नहुने बताइन् । लेखिका ढकाल विगत १५ वर्षदेखि परिवारसहित यूकेमा बस्दै आएकी छन् ।







