
चोलाकान्त रेग्मी
सुनौलो बिहानी,धरा झल्मलायो ।
इरादा अनौठो,नयाँ रंग छायो ।।
बहाना बनाई कहानी सुनायो ।
खुसीसाथ सानन्द सम्बन्ध छायो ।।
छ वैकुण्ठको त्यो बगैंचा रुपौलो ।
घुमौंला भनेथ्यो,कतै छैन कालो ।।
म प्रेमी हुँ, माया तिमीमा छ धेर ।
फकाई छकायो अनेकौं भनेर ।।
बृथा कल्पनाको उडायो जहाज ।
फँसायो,मना भो सबै थोक आज ।।
हरायो, उसैले जलायो नि छाती ।
नसोची गरेको सवारी नजाती ।।
उता सिंहको नाद जस्तै कराई ।
रहन्थ्यो, म सुत्थें डराई डराई ।।
उता मत्त भै फेरि कुद्थ्यो मलाई ।
लगारेर छेक्थ्यो, सफा कुट्नलाई ।।
नशाले बिहानै झुलाएर भित्र ।
बिना नीद सुत्यो, गनायो विचित्र ।।
फलाकेर गाली गरेथ्यो कुटेर ।
म भागेंछु आवाज सङ्गै कुदेर ।।
उडाए सरी भो सबै आश मेरा ।
सहारा सुनौलो, नतेरा न मेरा ।।
व्यथा वेदना छन् अचाक्ली मसङ्ग ।
पिडा मन्भरी छन् भए अंगभंग ।।







