काठमाडौ – प्रज्ञा प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानबाट प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरुको प्रदर्शनी गरिएको छ । प्रतिष्ठानको भानुभक्त कक्षमा यतिबेला २०३० सालदेखि हालसम्म प्रकाशित गरिएका पुस्तकहरु अवलोकन गर्न सकिन्छ ।
२०३० साल देखि २०७९ असार सम्म प्रकाशन भएका ‘धिमाल लोक जीवन अध्ययन’, ‘कार्वोनिक रसायन शास्त्र’, नेपाली बृहत् शब्दकोश परिमार्जन सहित दशौं संस्करण र सातै प्रदेशका महत्वपूर्ण विषय वस्तु समेटने ‘तस्विरमा नेपाल’ समेत प्रदर्शनी समावेश गरिएको छ । प्रदर्शनीमा पाठकले नव रसका धारा प्रवाह गर्ने धेरै संख्याका पुस्तकहरू एकै ठाउँमा हेर्न, पढ्न र मन परेका पुस्तकहरू छानेर खरिद गर्न सक्छन् । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान,अनुवादका र दर्शन सम्बन्धित धेरै विषयका पठनीय झण्डै ५ सय वटा पुस्तक तथा पत्रपत्रिकाहरू प्रदर्शनीमा समावेश गरिएका छन् ।
प्रदर्शनीमा ‘माटोको ममता’, ‘महेन्द्र प्रवचन माला’ जस्ता पुस्तक तीन रुपैयाँमा खरिद गर्न सकिन्छ । ‘तस्विरमा नेपाल’ पुस्तकको सबैभन्दा बढी मूल्य भने २ हजार ७० रुपैयाँ राखिएको छ । ‘प्रज्ञा नेपाली बाल निबन्ध’ जस्ता ७० भन्दा बढि नयाँ पुस्तकहरु प्रदर्शनीमा छन् । पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
प्रतिष्ठानले ‘नेपालमा बुद्ध धर्म’ लगायतका पुस्तकहरू पुन: प्रकाशित गरेको प्रतिष्ठानका सदस्य सचिव जगत प्रसाद उपाध्यायले बताए । उनका अनुसार अझै केही पुराना पुस्तकहरू पुन: प्रकाशन गर्ने क्रममा छन् ।
प्रतिष्ठानले २०१५ सालदेखि कालीदासको ‘रघुवंश महाकाव्य’, सोमनाथ सिग्देलको ‘सिद्धान्त कौमुदी’, ‘लोकवार्ता विवेचना’, ‘वोटे भाषाको व्याकरण’, ‘विश्वप्रख्यात नारीका कथाहरु’ र ‘प्रज्ञा नेपाली समालोचना’, ‘प्रज्ञा मैथिली नेपाली शब्दकोष’, ‘चीनका प्राचिन कथा’, ‘अमरकोश’ लगायतका थुप्रै पुस्तकहरु प्रकाशन गरिसकेको छ । प्रदर्शनी असार ३० गतेसम्म जारी रहनेछ ।







