चिन्ता बढिरहेको छ , भय झन् छ भयङ्कर
चिन्ता भय दुबै बढ्छन् , नरोकिई निरन्तर । १
शत्रु हुन् कि त हुन् मित्र , नभए किन आउँछन्
केका लागि दुबै जोडी , नछाडिकन धाउँछन् ? २
चिन्ता भन्छे चितासामु , तिमीलाई पुर्याउँछु
भय भन्छ तिमीलाई , चिन्तासामु पुर्याउँछु । ३
यसैमा सपना थप्छे , देखाउँछु म लक्षण
यस्ता दिन भएसम्म , रहुँला र सुरक्षण ? ४
कहाँ पोखुँ कुरा मेरा , सहृदयी त को छ र ?
एक्लो जीवनको सार , कति बेला छ के भर ? ५
कठिनाइसितै बित्छन् , दिन-रात सधैंभरि
कति दिन कुरी बस्नु , दु:खसाथ यसैगरी ? ६
दु;ख, चिन्ता ,भय , स्वप्न , एकैसाथ मडारिए
सुख , आनन्द , सम्पत्ति , एकैसाथ बडारिए । ७
कर्मको फल हो किं वा , सानो हो मनको गति ?
आशावादी कतै हुन्न , अाशै हुन्न अलिकति । ८
के गर्नुु ,के नगर्नु के , भन्नु नभन्नु के छ त ?
बाच्नु नबाच्नु यो मेरो , जिन्दगी भन्नु के छ त ? ९
सुखको खोजमा हििड्छु ,दु:खमात्र जताततै
जता खोजे पनि सुख्ख , भेटिदैन कहीँ कतै । १०
गुणा गर्दा पनि शून्य , जोड्दा पनि त शून्य छ
भाग गर्दा झनै शून्य , घटाउदा पनि शून्य छ । ११
जिउनु शून्य हो कि वा , नज्युनु पनि शून्य हो ?
सुख ,अानन्द सम्पत्ति , दु:ख आपत्ति शून्य हो ? १२







