काठमाडौं – नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । महोत्सव नेपाल भारत–साहित्य महोत्सवले आयोजना गरेको थियो ।महोत्सवअन्तर्गत पहिलो दिन विभिन्न सर्जकलाई सम्मानित गरियो । कार्यक्रममा बहुभाषिक कवि गोष्ठी समेत आयोजना गरिएको थियो ।
महोत्सवमा कवि बैरागी काइँला, प्रा. डा. वासुदेव त्रिपाठी, घनश्याम राजकर्णिकार, मोदनाथ प्रश्रित, डा. रामदयाल राकेश, गणेश रसिक, डा. राजेन्द्र विमल, प्रा. डा. गोविन्दराज भट्टराई, पद्मावती सिंह, माया ठकुरी, डा. गार्गी शर्मा, प्रा. डा. उषा ठाकुर, हिरण्यकुमारी पाठक, डा. बेन्जु शर्मा र उन्नति बोहरा शीलालाई सम्मानित गरिएको थियो । नेपाली ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले स्रष्टाहरूलाई सम्मानित गरेका हुन् ।
महोत्सवको स्मारिका पनि विमोचन गरिएको थियो । महोत्सवमा आयोजित महफिलमा इम्तियाज वफा, डा. साकिब हारूनी, कन्चना झा, फुरकान फैजी, करुणा झा, रेखा यादव, नसिम अख्तर, अनिलासिंह चाडक, प्रदीप बमजन, राधा पाण्डे, देवी पन्थीलगायत व्यक्तिले नेपाली, हिन्दी र उर्दू गजल प्रस्तुत गरेका थिए ।
महोत्सवको दोस्रो दिन वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई उनको घरमै गएर सम्मान गरिएको थियो । सोही दिन साहित्य महोत्सवअन्तर्गत साहित्यकार दिव्य गिरीको कृतिसहित भारतीय पाँच कृतिको पनि विमोचन गरियो । यस्तै, नेपाल–भारतको साहित्यमाथि कार्यपत्रहरू प्रस्तुत गरियो ।उक्त दिन लघुकथा पनि वाचन गरिएको थियो ।महोत्सवको अन्तिम दिन नेपाल–भारत साहित्य महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको संयोजनमा घोषणापत्र जारी गरिएको थियो ।







