काठमाडौं-निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध संग्रह सार्वजनिक भएको छ । प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले ‘याकजी’को विमोचन गरेका हुन् ।
‘याकजी’मा तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन गरिएको छ ।
पुस्तक विमोचनपछि नाटककार मल्लले भने, “डोल्पाली समाजको असाध्यै सूक्ष्म वर्णन गरिएको यो कृति कला र शिल्पको हिसाबले महत्वपूर्ण छ । यो कृति यात्रा मात्रै नभएर सामाजिक रूपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ हो ।”
समालोचक महेश पौडेलले नयाँघरेको ‘याकजी’ विवरणभन्दा अनुभूतिले भरिभराउ भएको यात्रा लेखनको एक मानक ग्रन्थ बन्न पुगेको बताए ।
लेखक नयाँघरे कर्णालीको विकट क्षेत्रको यात्राबाट आफूले जीवनकै गहिरो दर्शन प्राप्त गरेको बताउँछन् । “डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्व हो । विकटताभित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरू घुम्नु पर्छ । यो यात्राबाट मैले समाज र सरकारलाई हेर्ने एउटा फरक भावना हुर्काएको छु । देश चिन्नका लागि डोल्पा एक विशेष स्थान हो । हरेक व्यक्तिले समय, समाज र संस्कृतिको समग्र अवस्था अध्ययनका लागि डोल्पा जस्ता विकट र कष्टकर भूभाग एक पटक भ्रमण गर्नुपर्छ,” उनले भने ।
नियात्राकार नयाँघरेका यो १८औँ कृति हो । रत्न पुस्तक भण्डारबाट प्रकाशित यो कृतिलगायत उनका आठौँ नियात्राका कृतिहरू प्रकाशित छन् । मदन पुरस्कारलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित नयाँघरे नेपाली निबन्ध र नियात्रा साहित्यका प्रतिनिधि लेखक मानिन्छन् ।







