काठमाडौं,चैत्र १७, स्मार्ट अक्षर संम्वाददाताः
सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा अधारित नयाँ सञ्चार सेवा ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ सार्वजनिक गरेको छ । भक्सक्रो प्रालिको प्राविधिक समन्वयमा सञ्चालित रहेको यो सेवाको नेपालमै पहिलो व्यावसायिक सुरुवात गरिएको हो ।
सामान्य भाषामा बुझ्दा एकै समयमा हजारौँ फोन नम्बरमा एउटै रेकर्डेड सन्देश प्रसारण गर्ने प्रविधि नै ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ हो । प्रचलनमा रहेको बल्क एसएमएस सिस्टमको परिस्कृत संस्करण भ्वाइस कलिङ सिस्टमका रूपमा यो सेवा आएको छ । यसलाई भ्वाइस एसमएस पनि भनिन्छ । यो सेवामा कुनै पनि भाषामा आवाज रेकर्ड गरी वेब एप्लिकेशनमा अपलोड गरिन्छ । निम्तो तथा जानकारी दिन चाहनेले आफ्नै आवाजमा सन्देश प्रवाह गर्न सक्छन् । फोन नउठेका नम्बरमा कलहरू पुनः डायल हुन्छ । अन्त्यमा त्यसकाे प्रभावकारिता रिपोर्ट वेब एपमै उपलब्ध समेत हुने भएकाले यो सिस्टम निकै प्रभावकारी छ । कम्पनी स्थापनाको एक वर्ष भित्र झन्डै पाँच सय जना सेवाग्राहीलाई सेवा दिएर सिस्टमको सफल परीक्षण गरिएको छ । टेलिकमको शुल्क र कम्पनीको सिस्टमको शुल्क गरेर करसहित एउटा कलको साढे तीन रुपैयाँ खर्च लाग्ने बताइएको छ । यसै प्रविधिको प्रयोग गरी विभिन्न अनुसन्धान, पोलिङ, ग्राहकको गुनासो तथा प्रतिक्रिया सङ्कलन गर्न सकिने सेवासमेत सुरु गरिएको छ ।
यो सेवा अटोमेटेड भ्वाइससँग सम्बन्धित भएकाले अन्तर्राष्ट्रियस्तरमा समेत सेवा प्रवाह गर्ने कम्पनीको योजना रहेको छ । यसअघि कम्पनीले कोरोना महामारीकाे समयमा विभिन्न संस्थासँगको समन्वयमा सार्वजनिक सन्देश ब्रोडकास्टिङ गरिसकेको छ । एक पटकमा एकभन्दा बढी व्यक्तिहरूको पहुँचमा तत्काल पुग्नुपर्ने सूचनाको पहुँच पुर्याउनका लागि कम्पनीले यस्तो कदम अघि सारेको हो ।
‘भ्वाइस ब्रोडकास्टिङ सिस्टमको सेवाका लागि भूगोल र मोबाइल फोनको प्रकृतिले फरक पार्दैन । नेपालको सन्दर्भमा साक्षरता, भाषा र प्रविधिको प्रयोग चुनौतीपूर्ण छ’, भ्वाइस ब्रोडकास्टिङ सिस्टमको निर्माता कम्पनी भक्सक्रोका अध्यक्ष सुसान्त राई भन्नुहुन्छ, ‘यस्तोमा सम्बन्धित संस्था तथा सङ्गठनले सर्वसाधारणलाई उपयुक्त हुने भाषा र शैलीको प्रयोग गरी सूचना सम्प्रेषण गर्न सक्छन् । जुनसुकै किसिमका मोबाइल फोन प्रयोगकर्ताका लागि समान रूपमा उपलब्ध छ । यसो हुँदा सूचनाको पहूँच सिधा र सरल हुन्छ ।’







