१९१४ सेप्टेम्बर ८ मा जन्मिएर १९८२ जुलाई २१ मा ६४ वर्षको उमेरमा मृत्यु वरण गरेका विश्वेश्वरप्रसाद कोइराला साहित्य र राजनीतिक क्षेत्रका सफल व्यक्तित्व हुन् । उनले राजनीति, राष्ट्र, समाजवाद, अर्थतन्त्र, धर्म, साहित्य, कला, संस्कृति आदिका क्षेत्रमा आफ्ना महŒवपूर्ण अभिव्यक्ति दिएका छन् । यहाँ उनले साहित्य, कला र संस्कृतिका विषयमा राखेका विचारको सङ्क्षिप्त विमर्श गरिएको छ ।
विश्वेश्वरप्रसाद कोइराला साहित्यलाई सभ्यताको प्रतीक मान्छन् । उनले सङ्गीत र भावको संयोजनबाट जन्मेको उच्चतम् दर्शन साहित्य हो भनेका छन् । साहित्य साँघुरो घेराबाट मुक्त हुनुपर्छ । यसको प्रकृति विशाल हुन्छ । त्यसैले उनी भन्छन् ‘‘साहित्य जीवनजस्तै व्यापक छ । यथार्थमा समग्र जीवनको प्रतिबिम्ब नै साहित्य हो ।’’ स्वतन्त्रतामा बाँच्न चाहने कोइराला साहित्यमा पनि स्वतन्त्रता रुचाउँछन् । उनले भाषा व्याकरणका अधिनमा रहनु हुँदैन, व्याकरण पनि राजनीतिजस्तै अग्राह्य चीज हो र भाषा जति उन्मुक्त रहन्छ त्यति नै गतिशील हुन्छ भन्ने विचार अभिव्यक्त गरेका छन् । साहित्य पूर्वाग्रहमुक्त हुनुपर्छ । यसले समाजका विकृति र विसङ्गतिलाई उदाङ्गो पार्न सक्नुपर्छ । त्यसैले कोइराला साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ भन्छन् । साहित्यमा स्वच्छन्द अभिव्यक्ति चाहने उनले लेखकको स्वतन्त्र अभिव्यक्तिमाथि भाषिक विद्वता छाँटिन नहुने त्यसो भएमा भाषा र साहित्यको विकास रोकिने दृष्टिकोण राखेका छन् ।
कला र साहित्य अन्तप्र्रेरणाको अभिव्यक्ति भएकाले यसले स्वतन्त्रता चाहने साथै परम्परागत नियममा नबाँधिई नयाँनयाँ प्रवृत्ति अवलम्बन गर्ने र अतृप्तीलाई अँगाल्ने विचार कोइरालाको छ । फ्रायडको मनोविश्लेषण सिद्धान्तलाई मान्ने उनले साहित्यलाई राजनीतिबाट पृथक राखेका छन् । राजनीति साँघुरो घेरामा बाँच्ने, कानुनको निर्देशन र नियममा बाँधिने तर साहित्य विराट् र खुल्ला हुने भएकाले यी दुईको चरित्र नै भिन्न रहेको दृष्टिकोण उनको छ । कोइराला आफूलाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकवादी मान्छन् । उनले संस्कृतिलाई समेत साँघुरो घेराबाट मुक्त गर्दै विश्व संस्कृतिलाई स्वीकार गरेका छन् । उनले मानव व्यवहारलाई संस्कृति मानेका छन् ।
साहित्य र राजनीतिमा भिन्न भिन्न प्रवृत्ति लिएर देखा परेका विश्वेश्वरप्रसाद कोइराला साहित्य र कला मर्यादित नहुने यसैले मर्यादाको सिर्जना गर्ने बताउँछन् । उनले स्वतन्त्र अभिव्यक्तिलाई सर्वोपरी मान्दै जनआवाज र स्वतन्त्र साहित्यमा जोड दिएका छन् । मनोविज्ञानलाई साहित्य सिर्जनाको प्रेरक मान्ने कोइरालाले अन्तरप्रेरणाबाट नै साहित्यमा लागेको अभिव्यक्ति दिएका छन् ।




