काठमाडौँ – कास्की जिल्लाको पोखरा सहरलाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार पोखरा महोत्सवका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।
प्रधानमन्त्री दाहालले पोखरा प्राकृतिक,सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।
पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । उक्त गन्तव्य आजदेखि मुलुकै पर्यटनको लागि राजाधानीका रूपमा नेपाल सरकारबाट घोषणा भएको हो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक,सांस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम विश्वमा शीर्ष पर्यटकीय गन्तव्यको रूपमा ख्यातिप्राप्त सुन्दर पोखरालाई मुलुकै पर्यटकीय राजधानीका रूपमा औपचारिक घोषणा गरिएको बताए ।
उनले पोखरा पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएको बताए । उनले विश्वका विभिन्न मुलुकमा सहरका आ–आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको बताए । उनले विज्ञसहित अध्ययन समितिले अध्ययन गरी विभिन्न सूचकहरुको आधारमा पर्यटन राजधानी घोषणा गर्न सिफारिस गरेको स्मरण गरे ।







