काठमाडौँ- नेपाल राष्ट्र बैंकले मुलुकमा एक वर्षका निम्ति वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चित रहेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार, पछिल्लो ६ महिनामा विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भएको छ । गएको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति पुस मसान्तमा १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको हो ।
हाल राष्ट्र बैंकसँग १३ अर्ब ६९ करोड अमेरिकी डलर सञ्चित छ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आर्थिक तथा वित्तीय अवस्था मंगलबार सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो जानकारी गराएको हो ।
६ महिनाको आयातलाई आधार मान्दा यो विदेशी विनिमय सञ्चितिले १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्ने देखिएको राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
रेमिट्यान्स २५ प्रतिशतले बढ्यो
नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा रेमिट्यान्स २४.३ प्रतिशतले बढेको थियो । पुस मासन्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख सात हजार ९७० रहेको छ ।
यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३५ हजार ४३५ छ ।







