काठमाडौँ- नेपाल पर्वतारोहण संघले ५० औँ स्थापना दिवसको अवसरमा सगरमाथाको आधारशिविर कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने भएको छ।
संघले आइतबार पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनले पार्ने असरका बारेमा विश्वलाई सन्देश दिन पर्वतारोहण संघले ५० औं स्थापना दिवसको अवसरमा सगरमाथाको आधारशिविर कालापत्थरमा राष्ट्रिय झण्डा फहराउन लागेको बताएको हो।
संघका महासचिव मोहन लम्सालले सन् २००९को डिसेम्बर ४ मा मन्त्रिपरिषद्को बैठक आयोजना गरिएको स्थान सगरमाथा आधारशिविर नजिकै रहेको कालापत्थरमा राष्ट्रिय झण्डा फहराउन लागेको बताए। उनले विश्वमा जलवायु परिवर्तनको सन्देश दिने उद्देश्यले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौं हुँदै कालापत्थरमा दीप प्रज्वलन गरी नेपालको राष्ट्रिय झण्डा फहराउन लागेको जानकारी दिए।
उनले शान्ति दीपसहित कालापत्थरमा राष्ट्रिय झण्डा फहराउँदा जलवायु परिवर्तनले हिमालहरूमा पर्न गएको असरबारे सन्देश दिने अपेक्षा रहेको बताए। उनले संघले ५० औं स्थापना दिवसका अवसरमा पासाङ ल्हामु शेर्पा महिला साहसिक पर्वतारोही पुरस्कार स्थापना गरी प्रत्येक वर्ष साहसिक महिलालाई प्रदान गरिने बताए।
उनले पर्वतीय पर्यटनमा नेपाली महिलाहरूको उत्साहजनक सहभागितालाई थप प्रोत्साहन गर्ने साहसिक महिला आरोहीहरूलाई पुरस्कृत गर्न लागेको बताए।
त्यसैगरी संघका अध्यक्ष नीमा नुरु शेर्पाले नेपालको गौरव सगरमाथामा विश्व शान्तिको सन्देश जरुरी रहेकाले लुम्बिनीबाट शान्तिको दीप प्रज्वलन गरी काठमाडौँ हुँदै कालापत्थरमा दीप प्रज्वलन गरी नेपालको राष्ट्रिय झण्डा फहराउने लागेको बताए। उनले आधारशिविरमा नेपालको राष्ट्रिय झण्डा फहराउँदा पर्वतारोहीहरू सगरमाथा चढ्दा नेपालमा नै रहेको अनुभूति दिन सकिने बताए।
उनले हिमालको अगाडि नेपालको राष्ट्रिय झण्डा राख्दा नेपाल हिमालका लागि प्रसिद्ध हो भन्ने सन्देश जाने बताए।
संघले ५० औं स्थापना दिवसको अवसरमा एशियाली पर्वतारोहण महासंघको साधरणसभा काठमाडौंमा गर्ने भएको छ। एशिया महादेशमा रहेका अल्पाइन क्लबहरूको छाता संस्थाहरूको रूपमा रहेको महासंघको साधारणसभामा एशिया महादेशका १८ वटा अल्पाइन क्लबहरूका प्रतिनिधि सहभागी हुनेछन्।







