पोखरा – ड्रुक एयरको विमानले पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरु गरेको छ।
विमानले केही बेरअघि ४२ यात्रु लिएर भुटानको पारोका लागि उडेको विमानस्थल प्रमुख देवचन्द्र लाल कर्णले बताए। चालक दलका तीन जना सदस्य मात्रै लिएर विमान शनिबार बिहान ६ बजेर ४० मिनेटमा पोखरामा अवतरण गरेको थियो।
यसअघि चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो। गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आएको सो विमानमा चीनबाट केही नेपालीसहित पोखरामा त्यो वेला सम्पन्न हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो।
तर, चीनबाट चार्टर्ड गरेर आएको सो विमान रित्तै फर्किएको थियो। सञ्चालनमा आएको झण्डै आठ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गरेको छ। प्रमुख कर्णले अब व्यावसायिक उडान नियमित बनाउन पनि प्रयास भइरहेको बताए।







