काठमाडौँ – आज बिहिबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेर बन्द भएको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो।
आज नेप्से परिसूचक १८.१५ अंक घटेर १९१५.१४ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २।९० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २५९ स्टकको २९ हजार ६८५ पटकको कारोबारमा १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ बराबरको ४३ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार एनआईसी एशियाको सबैभन्दा बढी कारोबार भएको छ। सो बैंकको यस दिन २१ करोड ७४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। मर्जरको हल्लासँगै यस दिन बैंकको कारोबार बढेको हो। त्यसैगरी, यस दिन सिद्धार्थ बैंकको ८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
घटेको बजारमा यस दिन माया खोला हाइड्रोपावर कम्पनी र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माया खोलाको शेयरमूल्य २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ भने एशियन हाइड्रोपावरको २९ रुपैयाँ ८० पैसा बढेर ३२८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, सिद्धार्थ बैंकको यस दिन ८ प्रतिशतभन्दा बढी बढेको छ।
१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।







