काठमाडौँ – नेपाल पर्यटन बोर्ड(एनटीबी)ले म्यानमार र थाइल्याण्डस्थित नेपाली दूतावासको सहकार्यमा दुई देशमा ‘नेपाल इभनिङ–लुम्बिनी एन्ड बियोन्ड’ कार्यक्रम आयोजना गरेको छ । बोर्डले आइतवार म्यानमारको याङ्गुन र थाइल्याण्डको बैंककमा बिमस्टेक क्षेत्रको बौद्ध पर्यटन प्रवद्र्धन गतिविधि अन्तर्गत उक्त कार्यक्रम आयोजना गरेको हो ।
बोर्डले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार बृहत्तर लुम्बिनी क्षेत्रको प्रचारप्रसार र नेपाललाई आध्यात्मिक पर्यटनको लागि उपयुक्त गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
म्यानमार कार्यक्रममा एनटीबीका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले दक्षिणपूर्वी एसियाली राष्ट्रका वायुसेवा कम्पनीहरुलाई नेपालको दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान सुरु गर्न आग्रह गरे । उनले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्नका लागि बोर्डले आवश्यक सबै सहयोग गर्ने आश्वासन पनि दिए ।
म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्र संघका पूर्वमहासचिव उ थान्टले खेलेको भूमिकाको स्मरण गर्दै बर्मीका नागरिकका लागि नेपाल राम्रो आध्यात्मिक र प्राकृतिक गन्तव्य हुनेमा जोड दिए ।
कार्यक्रममा भिक्षु, बोधगया पर्यटन समितिका पदाधिकारी, म्यानमार इन्टरनेशनल एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत र म्यानमार ट्राभल एसोसिएसनका प्रतिनिधिहरुको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, थाइल्याण्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकालले थाइल्याण्डका पर्यटन व्यवसायीलाई नेपालमा पर्यटक पठाउन आग्रह गरे ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० का स्टाफ प्रमुख पाउल प्रुआङकर्नले पनि बैंककमा आयोजना भएको एसोसिएसनको वार्षिक शिखर सम्मेलन र एडभेन्चर मार्टको औपचारिक घोषणा गरेका थिए ।
दुवै कार्यक्रममा याङ्गुन र बैंकक दुवैबाट पर्यटक समुदायको अत्याधिक उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ।







