काठमाडौँ – गत साताको दोस्रो कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३०.७७ अंक घटेर १९३८.२५ विन्दुमा झरेको छ।
आज सेन्सेटिभ इण्डेक्स ४.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ अंक घटेको छ। आज २५९ स्टकको ३० हजार ९०३ पटकको कारोबारमा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँ बराबरको ३८ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्रिी भएको छ।
नेप्से घटेपनि आज देखि कारोबारमा आएको सुपरमाई हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य २९ रुपैयाँ ९० पैसा बढेर ३२८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। अन्य स्टकहरुको शेयरमूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
यस दिन सामलिङ्ग पावर कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ५७ रुपैयाँ घटेर ५१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी,आदर्श लघुवित्त र खप्तड लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्सको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
आइतबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशत घटेको छ। यस दिन होटल तथा पर्यटन, जलविद्युत र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।







