काठमाडौँ – बुध्द एयरले फागुन २५ देखि पोखरा- भद्रपुरको दैनिक सिधा उडान गर्ने भएको छ । पोखरादेखि भद्रपुरको उडान अवधि करिब १ घण्टाको हुने एयरलाइन्सले जनाएको छ । यो गन्तव्यको प्रमोसनल भाडादर ७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
कम्पनीका अनुसार पोखराबाट भद्रपुरको उडान समय हरेक दिन बिहान सवा ६ बजे तथा भद्रपुरबाट पोखराको उडान समय साँझ ६ : ५५ बजे रहेको छ । एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले भनेको छ ‘दैनिक उडानबाट यी दुवै ठाउँको पर्यटकीय स्थलमा चहलपहल बढ्ने छ । भद्रपुरमा नजिकै रहेका चियाबगान, विभिन्न धार्मिकस्थल तथा देशकै होचो ठाउँको अवलोकन गर्न सकिन्छ । त्यसैगरि स्थानीय खानपानको स्वाद पनि लिन सकिन्छ । इलाम तथा ताप्लेजुङबाट पूर्वको सगरमाथा, मकालु, कञ्चनजंघालगायतका हिमश्रृंखला सजिलै हेर्न सकिन्छ ।’
यस सिधा उडानबाट भद्रपुर नजिक रहेका भारतीय शहरहरु सिक्किम तथा पश्चिम बंगालका दार्जिलिङ, सिलिगुढी तथा विभिन्न शहरका पर्यटकहरुलाई पोखरा आउजाउ गर्न सहज हुने विज्ञप्तिमा जनाइएको छ । ‘भद्रपुर तथा सिमापारिका पर्यटकहरुले पोखरा तथा वरिपरि रहेका तालतलाउ, हिमश्रृंखलाको आनन्द लिन सक्छन्’ विज्ञप्तिमा भनिएको छ ‘एडभेन्चर्स, ट्रेकिङ रुचाउने पर्यटकका लागि पोखरा अपरिहार्य गन्तव्य रहेको छ ।’







