काठमाडौँ – नेप्से परिसूचक निरन्तर पाचौँ कारोबार दिन ओरालो लागेको छ। गत साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले, यस साताको पहिलो कारोबार दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ।
आज नेप्से परिसूचक २३.६० अंक घटेर २०४६.८१ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ४.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५५ अंक घटेको छ।
नेप्से ओरालो लागेपनि कारोबार रकम सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २५८ स्टकको ३८ हजार ४१५ पटकको कारोबारमा १ अर्ब ९४ करोड ७६ लाख २३ हजार रुपैयाँ बराबरको ६० लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार नेप्से घटेपनि एक कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। जीवन विकास लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.१५ प्रतिशत घटेको छ। त्यस्तै, उपकार लघुवित्तको शेयरमूल्य ७.४२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.२० प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।







