काठमाडौँ -साताको अन्तिम कारोबार दिन बिहीबार अन्तिम समयमा खरिद चाप बढ्दा शेयर बजार सकारात्मक लयमा फर्किएको छ। सुरुवाती समयमा नकारात्मक देखिएको बजार अन्तिममा भने दोहोरो अंकले बढेको छ।
यस दिन नेप्से सूचक १२.४५ अंकले बढेर २१८२.६३ विन्दुमा पुगेको छ भने २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँ बराबरको ५६ लाख ४८ हजार २१२ कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा म्युचुअल फण्डबाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ।
यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जोशी,न्यादी र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य पनि उच्च बढेको छ।
यता ग्रामिण विकास लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशतले बढेको छ भने आदर्श लघुवित्त र विन लघुवित्तको शेयरमूल्य पनि उच्च घटेको छ।
बिहीबार अपि पावरको सबैभन्दा धेरै ५ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नविल बैंक, ङादी गूप पावर र स्ट्यान्डर्ड चाटर्ड बैंकको पनि उच्च कारोबार भएको छ।
शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षा गर्ने भएकोले पनि लगानीकर्ता त्यसैको पर्खाइमा छन्। यस पटक नेपाल राष्ट्र बैंकले शेयर बजारको लागि सकारात्मक नीति लिने लगानीकर्ताको अपेक्षा छ।







