काठमाडौँ – चिनियाँ पाहुनालाई नेपाल घुम्ने बाटो खुलाइदिनु भन्दै पोखरेली व्यवसायीले कूटनीतिक निकाय गुहार्न थालेका छन्। नेपाल घुमघाममा चीनले नै फुकुवा गरेको छैन। काेराेना संक्रमण कमजोर हुँदै जाँदा अरू मुलुकका पाहुना नेपाल भित्रिन थाले पनि छिमेकी मुलुक चीनका पर्यटक अझै पनि भित्रिन पाएका छैनन्।
होटल संघले नेपालस्थित चिनियाँ राजदूतलाई पत्र पठाउँदै चिनियाँ पाहुनाको पर्खाइमा व्यवसायी रहेको उल्लेख गरेका छन्। संघका अध्यक्ष लक्ष्मण सुवेदीले पत्रमा भनेका छन, ‘कोभिड–१९ केही मत्थर हुँदै गर्दा चीनले गन्तव्य मुलुकको सूची सार्वजनिक गर्नुलाई सकारात्मक रूपमा लिइएको छ। सन् २०२३ मा चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाली पर्यटन व्यवसायी तयार र आशावादी भएकै बखत चीनका तर्फबाट सार्वजनिक भएको २० गन्तव्य मुलुकको सूचीमा नेपाल नपर्दा संघ निराश भएको छ।
नेपाली पर्यटन बजारले दुई छिमेकी मुलुक चीन र भारतबाट भित्रिने पर्यटकबाट राम्रो लाभ कमाउँदै आएको थियो। चिनियाँ र भारतीय पर्यटक पर्याप्त आइदिने हो भने पर्यटन बजार सहजै धानिने र आन्तरिकसहित अरू मुलुकका पाहुना पनि थपिँदा पर्याप्त कमाइ हुने हुँदा व्यवसायी केही वर्ष अघिसम्म दंग थिए। अझ चीन र भारतका पाहुना पोखरा घुम्न मरिहत्ते गर्दा त व्यवसायी झन् खुसी भएका थिए।
कोरोना भाइरस संक्रमण सुरु भएपछि भने बाह्य पर्यटक आगमनमा एकाएक गिरावट आयो। संक्रमणको केही समयसम्म त तेश्रो मुलुकका पाहुनाको आगमन मासिक दुुई अकंमा झरेको थियो। भारतीय पाहुनाका लागि नेपाल घुमघाममा कुनै रोकतोक नरहे पनि चिनियाँ पाहुनाका लागि भने चीनले नै फुकुवा गरेको छैन। जसले गर्दा पर्यटन व्यवसायी चिन्तित छन्।
व्यवसायीका अनुसार पोखराको पर्यटनमा चिनियाँ पाहुनाको हिस्सा निकै राम्रो थियो। भारतीय पनि थपिँदा व्यवसाय सहज बनेको थियो। भारत र चीनबाहेक तेश्रो मुलुक र आन्तरिक पाहुना पनि भित्रिँदा पर्यटक संख्याको बढोत्तरी वर्सेनि वृद्धि भइरहेको थियो। कोरोना संक्रमण सुरु भएपछि भने चिनियाँ पर्यटक आउन पाएका छैनन्। भारतीय र आन्तरिकको भरमा व्यवसाय धान्न सकस भइरहेको व्यवसायीको गुनासो छ।







