काठमाडौँ कोरोना भाइरसको महामारीपछि पहिलो पटक चीनले आउटबाउण्ड टूरिजम खुला गरेको छ। ६ फेब्रअुरी (२३ माघ)बाट विदेश घुम्न पाउने चिनियाँ नागरिकले भ्रमण गर्न पाउने देशको सूचीमा नेपाल भने परेको छैन ।
चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले २० जनवरीमा एक सूचना प्रकाशित गर्दै निकालेको चिनियाँ नागरिकहरु आउटबाउण्ड टूरिजममा जान पाउने देशको सूचीमा नेपाल समावेश छैन् ।
चिनियाँ पर्यटन मन्त्रालयले ६ फेब्रुअरी २०२३ बाट राष्ट्रिय ट्राभल एजेन्सी र अनलाइन ट्राभल कम्पनीहरुलाई चिनियाँ नागरिकका लागि सम्बन्धित मुलुकमा आउटबाउण्ड ग्रुप टूर, एयर टिकट र होटेल व्यवसाय सञ्चालनको अनुमति दिइएको छ । साथै ती कम्पनीहरुलाई आफ्ना उत्पादन, प्रचार प्रसार र प्रवद्र्धन गर्न समेत खुला गरिएको छ ।
चीनले आफ्नो नागरिकलाई थाइल्याण्ड, इण्डोनेसिया, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुर, लाओस, यूएई, इजिप्ट, केन्या, दक्षिण अफ्रिका, रुस, स्वीट्जरल्याण्ड, हंगेरी, न्यूजील्याण्ड, फिजी, क्युबा र अर्जेण्टिनामा मात्र जान अनुमति दिएको छ ।
दक्षिण एसियामा भारत र नेपाल चीनको सूचीमा अटाएका छैनन् । सामान्यतया आउटबाउण्डमा चिनियाँ सरकारले मुलुक नै तोकेपछि पनि नागरिक घुमफिरमा निस्कन भने पाउँछन्, तर ती मुलुकमा गएका नागरिकलाई राज्यले तोके अनुसार सहजीकरण भने गर्दैन ।







