काठमाडौं – ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यु इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ।
परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीहरूलाई मध्यनजर गरेर ठमेलको पर्यटन प्रवर्द्धनका लागि सडक महोत्सव आयोजना गरेको बताए।
उनले महोत्सवले ठमेल जान, बस्न र घुम्नको लागि जानुपर्छ भन्ने पारिवारिक वातावरण सिर्जना गर्ने बताए। उनले सडक महोत्सव नगरीकन आम सर्वसाधारणहरुलाई ठमेल लैजान नसक्ने बताए।
अध्यक्ष शर्माले सडक महोत्सवमा आधुनिक सांगीतिक कार्यक्रमदेखि सांस्कृतिक सांगितिक कार्यक्रमहरु प्रश्तुत गरिने पनि बताए। उनले अंग्रेजी नयाँ वर्षको कार्यक्रममा १ लाख दर्शक भित्र्याउने अपेक्षा बताए। १ लाख दर्शकहरुको व्यवस्थापनका लागि पनि आवश्यक तयारी गरिसकेको बताए।
सडक महोत्सवको लागि हरेक रेष्टुराँहरुले आफ्ना प्याकेजहरु सामाजिक सञ्जालबाट जानकारी गराइसकेको पनि बताए। उनले सडक महोत्सवमा आउने आगन्तुकलाई सस्तोमा मिठो खानेकुरा ख्वाउने प्रतिवद्धता जनाए।
उनले सडकमा नै सोचेजस्तो पारिवारिक वातावरणमा खान, बस्न, घुम्न पाउने बताए। नयाँ वर्षको कार्यक्रम विगतका भन्दा फरक र ठूलो हुने बताए। उनले ठमेललाई पर्यटकीय नगरीको रूपमा सरकारले घोषणा गर्नुपर्ने बताए।
उनले ठमेललाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय नगरी बनाउन राज्यले पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने बताए।
न्यु इयर इभ तथा ठमेल सडक महोत्सव २०७९ साल पुस १६ गते शनिबार ठमेल केशरमहल सञ्चयकोष अगाडि साँझ ५:३० बजेबाट सुरु भई मध्यरातिसम्म सञ्चालन हुनेछ। कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने आयोजकले जनाएको छ।
महोत्सवमा नेपाली मौलिक कला, संस्कृति, सांगितिक कार्यक्रम, ठमेलका व्यवसायीहरुले उत्पादन गरेका विभिन्न सामग्रीहरुको प्रदर्शन हुनेछ। परिषद्ले न्यु इयर इभ तथा ठमेल सडक महोत्सवका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ।







