काठमाडौं – अर्थमन्त्री विष्णु पौडेल आएसँगै सेयर लगानीकर्ताहरू उत्साहित हुन थालेका छन् । यस अघिपनि अर्थमन्त्रीको जिम्मेवारी समालिसकेका पौडेलले बजारमा भएका समस्या सुधारका काम गर्ने अधिकांश लगानीकर्ताको विश्वास छ ।
तर, उनी अर्थमन्त्रीमा नियुक्त हुने वित्तिकै अर्थतन्त्रमा अहिले देखिएको समस्या समाधान भने हुने देखिँदैन । बजारको बढाई हेर्दा अर्थतन्त्रमा केही पनि समस्या नभएको र बजारमा प्रशस्त पैसा भएको जस्तो देखिन्छ । दुई दिनको नेप्से इन्डेक्स हेर्दा यस्तो संकेत देखिएको हो ।
धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक पछिल्ला दुई दिनमै ११६ अंकले वृद्धि भएको छ । एक साताको अन्तरालमा नेप्सेले १८६५ विन्दुको टेवा लिएर उकालो लागेको देखिन्छ । मंगलबार नेप्से ३.११ प्रतिशतले वृद्धि भएर १९८३.९६ विन्दुमा बन्द भएको छ । नेप्से आज ५९.८७ अंकले वृद्धि भएको छ भने सोमबार ५६.८८ अंक बढेको थियो ।
आज २६१ स्टकको ६३ हजार ६७ पटकको कारोबारमा ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड २० लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।आजको कारोबार रकम गत साउन १८ गते यताकै उच्च हो। सो दिन नेप्सेमा ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।
आज ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्त र कालिका पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस बाहेक तेह्रथुम पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। २६१ स्टकमध्ये २० स्टकको मात्र मूल्य घटेको छ। यद्यपि, शेयरमूल्य गिरावटदर भने ३ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल टेलिकमको १४ करोडभन्दा बढकिो शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरी, नबिल बैंक र एनआईसी एशिया बैंकको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक ६.४३ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।







