काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको भ्रमणका लागि १३ हजार बढी पर्यटक खुम्बु क्षेत्र आइपुगेका छन्। कात्तिक महिनामा मात्र खुम्बु क्षेत्रको भ्रमणका लागि १३ हजार १५८ जना पर्यटक खुम्बु आइपुगेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ।
खुम्बु पुगेकामध्ये नेपाली एक हजार ५ जना, सार्क क्षेत्रका ७८६ जना र अन्य देशका १० हजार ८७२ जना छन्। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले एक महिनामा दुई करोडभन्दा बढी राजस्व संकलन गरेको छ।
निकुञ्जले कात्तिक २ करोड ७९ लाख ६४ हजार ७४५ रुपैयाँ राजस्व संकलन गरेको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जले तेस्रो मुलुकका विदेशी पर्यटकबाट प्रतिव्यक्ति ३ हजार, सार्क मुलुकका पर्यटकबाट १ हजार ५ सय, नेपाली पर्यटकबाट १०० रुपैयाँ र भरियाबाट २५ रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ।







