काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ। आज नेप्से ३२.४३ अंक बढेर १९६५.९८ विन्दुमा पुगेको छ।
आज राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ। सो समीक्षा बजारमैत्री हुने अपेक्षामा यस दिन नेप्से उकालो लागेको जानकारहरु बताउँछन्।
यस दिन सेन्सेटिभ इण्डेक्स ५.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१६ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको शेयर कारोबार भएको बजारमा आज २३३ स्टकको ३१ हजार ०९३ पटकको कारोबारमा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँ बराबरको ४२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०७ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीव्न बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस करिब १ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४५ करोड ४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नबिल बैंकको १२ करोड ३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन डिप्रोक्स लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशत बढेको छ। त्यसैगरी, जीवन विकास लघुवित्तको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने कुमारी बैंक, ग्रीनलाइफ हाइड्रोपावर, नेष्डो समृद्ध लघुवित्त, सिईडिबी हाइड्रोपावर र धौलागिरी लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।







