काठमाडौं– आज नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ। करिब २ महिनापछि नेपाल स्टक एक्सचेञ्जमा २ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। कात्तिक २१ गते, सोमबार २२४ स्टकको ३५ हजार ११२ पटकको कारोबारमा २ अर्ब १० करोड ९१ लाख रुपैयाँ बराबरको ४९ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.१३ प्रतिशत बढेको छ। त्यसैगरी, जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य यस दिन करिब ७ प्रतिशत बढेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको मूल्य साढे ४ प्रतिशत बढेको छ।आज ग्लोबल आइएमई लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ। यस्तै, आशा लघुवित्त, एनआईसी एशिया लघुवित्त र शिवम् सिमेन्ट्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा आज जाल्पा लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको १५ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। लघुवित्तले ७३ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु यस लघुवित्त तर्फ आकर्षित भएका हुन्। त्यसैगरी, शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेष्डो समृद्ध लघुवित्तको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत बढेको छ भने लगानी, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको विकास बैंक, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।







