काठमाडौं- आज साताको पहिलो कारोवार दिन आइतबार नेप्से परिसूचक ४३.२० अंक बढेर १९६५.३६ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.०९ अंक, फ्लोट इण्डेक्स २.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २२८ स्टकको २७ हजार ७६८ पटकको कारोबारमा १ अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको ३९ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सर्वाधिक शेयरमूल्य बढ्ने १० स्टकहरुको सूचीमा ९ वटा लघुवित्त परेका छन्। जसमध्ये ४ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्तको शेयर १० प्रतिशत बढेर कारोबार भएको हो। त्यसैगरी, उन्नती सहकार्य लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। आज मूल्य घटेका स्टकहरुको गिरावट दर भने साढे २ प्रतिशत भन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा नेष्डो समृद्ध लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज १३ प्रतिशत बोनस शेयरसहित साढे २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको एभरेष्ट बैंकको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।







