काठमाडौं- साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनमा ९४.१६ अंक बढेको नेप्से, आज १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा झरेको छ।
लगानीकर्ताहरु नाफा सुरक्षित गर्न थालेपछि आज नेप्सेमा करेक्सन भएको हो। सेन्सेटिभ इण्डेक्स ३.५० अंक, फ्लोट इण्डेक्स १.११ अंक, सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ अंक घटेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे १ अर्बको शेयर कारोबार भएको बजारमा २२० स्टकको १८ हजार १४० पटकको कारोबारमा ८९ करोड ८९ लाख ७ हजार रुपैयाँ बराबरको २७ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार युनिलिभर नेपालको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत बढेको छ। कम्पनीले प्रतिकित्ता १ हजार २१५ रुपैयाँ अर्थात १ हजार २१५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै कम्पनीको शेयरमूल्य बढ्न पुगेको हो। त्यसैगरी, प्रतिफल वितरण प्रयोजनार्थ भोली बुकक्लोज गर्न लागेको नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य यस दिन ५.९२ प्रतिशत बढेको छ। विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रोपावर, मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एभरेष्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको आज ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, आज गरिमा विकास बैंकको साढे ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने अरुण काबेली पावरको करिब साढे ३ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक क्रमशः ०.०२ प्रतिशत र ०.०१ प्रतिशत बढेको छ। आज विकास बैंक, वित्त, जलविद्युत, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।







