काठमाडौं- नेप्से परिसूचक पछिल्लो साढे ३ महिना यताकै उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ५६.११ अंक बढेको छ। यस अघि गत साउन ८ गते, नेप्से सूचक ६१.०५ अंक बढेर बन्द भएको थियो। आजको वृद्धि सो दिनपश्चातकै उच्च हो।
नेप्से परिसूचक यस दिन २.९९ प्रतिशत बढेर १९३०.९९ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ११.२८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७५ अंक बढेको छ।
नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ। २३१ स्टकको २७ हजार ९३२ पटकको कारोबारमा १ अर्ब २९ करोड ६ लाख रुप्ैयाँ बराबरको ३९ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ६ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसै गरी, नबिल बैंकको करिब ६ करोडको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्स र रिडी पावरको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
मंगलबार न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २६ रुपैयाँ २० पैसा बढेर २८८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, दिव्यश्वरी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत, शिवम् सिमेन्ट्स, जोशी हाइड्रोपावर र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।
१३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।







