काठमाडौं – आज नेप्से परिसूचक ९.६९ अंक घटेर १८६०.९४ विन्दुमा झरेको छ। त्यसैगरी, आजको बजारमा सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अंक घटेको छ।
आज नेप्सेसँगै कारोबार रकममा सामान्य गिरावट आएको छ। २२१ स्टकको १६ हजार ७७६ पटकको कारोबारमा ८० करोड ३५ लाख २५ हजार रुपैयाँ बराबरको २५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से ओरालो लागेपनि यस दिन अभियान लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ६६ रुपैयाँ ७० पैसा बढेर ७३४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको मूल्य ७.२५ प्रतिशत बढेको छ भने एभरेष्ट बैंकको मूल्य ५.१५ प्रतिशत बढेको छ।
आज देखि कारोबारमा आएको पिपुल्स पावर कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य २८ रुपैयाँ ४० पैसा घटेर २५५ रुपैयाँ ७० पैसामा कारोबार भएको छ। त्यस्तै, यस दिन सिटिजन्स बैंकको मूल्य ७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एभरेष्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८ करोड ४७ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, गरिमा विकास बैंकको करिब ५ करोडको शेयर कारोबार भएको छ।
बैंकिङ्ग र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग उपसमूहको परिसूचक ०.२५ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.२८ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक, वित्त, जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।







