काठमाडौं – साताको पहिलो कारोबार दिन नेप्से ३३.९७ अंक घटेर १८७६.४१ विन्दुमा झरेको छ।बैंकहरुले ब्याजदर नबढाउने भद्र सहमति खारेज गरेसँगै बजार ओरालो लाग्न थालेको थियो। फलस्वरुप बैंकहरुले असोज महिनादेखि लागु हुने गरी ब्याजदर बढाएपछि नेप्सेले सोही गतिलाई निरन्तरता दिएको हो।
आज सेन्सेटिभ इण्डेक्स ६.०४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ। २२९ स्टकको २७ हजार ७९० रुपैयाँ बराबरको १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको ६२ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १६ स्टकको मात्र मूल्य बढेको छ। जसमध्ये ग्लोबल आइएमई समुन्नत स्किमको इकाईमूल्य सर्वाधिक ५.३५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन नेपाल ल्यूब आयलको मूल्य ४ प्रतिशत बढेको छ। कारोबारमा आएको बलेफी हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल
कन्स्ट्रक्सन र दोर्दी खोला जलविद्युतको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।
आइतबार कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २१ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, प्रभु बैंकको १९ करोड ५८ लाख ४५ हजार रुपैयाँ बराबरको संस्थापक शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२४ प्रतिशत घटेको छ। त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक ३.०९ प्रतिशत घटेको छ भने विकास बैंक, वित्त, जीवन बीमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।







