काठमाडौं- असोज महिनाको लागि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएसँगै बजार घट्न थालेकाे छ। आज नेप्से परिसूचक १४.१० अंक घटेर १९१०.३८ विन्दुमा झरेको छ। बजार खुले लगतै ओरालो लागेको नेप्से, १८८७ सम्म झरेको थियो। त्यसपछि विस्तारै सम्हालिएको बजार अन्तिम समयसम्ममा ०.७३ प्रतिशत घटेको हो। सेन्सेटिभ इण्डेक्स २.२३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक घटेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा २२० स्टकको १८ हजार ५३१ पटकको कारोबारमा ९० करोड ८१ लाख रुपैयाँ बराबरको २९ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएको नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य सर्वाधिक ७.८७ प्रतिशत बढेको छ। त्यसैगरी, बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ५.७५ प्रतिशत बढेको छ। मिर्मिरे माइक्रोफाइनान्स रिभर फल्स र अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, हिमालयन डिष्टिलरी र नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
शुक्रबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। सो उपसमूहको परिसूचक यस दिन ०.०१ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक, वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।







