काठमाडौं- अघिल्लो दिन बुधबार झण्डै ५० अंकले बढेको बजारमा बिहीबार भने पुनः उच्च अंकको गिरावट आएको छ। साढे १२ बजेसम्ममा नै नेप्से सूचक २५ अंकले घटिसकेको थियो ।
बिहीबार नेप्से परिसूचक करिब ३ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो २ कारोबार दिन उकालो लागेको नेप्से, आज ५७ अंक घटेर १९२४.४८ विन्दुमा पुगेको छ।
आज सेन्सेटिभ इण्डेक्स ११.२३ अंक, फ्लोट इण्डेक्स ३.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१२ अंक बढेको छ। नेप्से ओरालो लागेपनि कारोबार रकम भने उल्लेख्य बढेको छ। यस दिन २३२ स्टकको ३५ हजार ५३७ पटकको कारोबारमा २ अर्ब १२ करोड ५६ लाख ५५ हजार रुपैयाँ बराबरको ६९ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ४.१२ प्रतिशत बढेको छ। त्यसैगरी, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ४ प्रतिशत बढेको छ। एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई मूल्य सर्वाधिक ८ प्रतिशत घटेको छ। कारोबारमा आएको समृद्धि फाइनान्स र श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा लक्ष्मी बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको २१ करोड ५० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, रिडी पावरको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
बिहीबार वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.२४ प्रतिशत घटेको छ। त्यसैगरी, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।







