काठमाडौं – भदौ २९ गते, नेप्से परिसूचकमा पछिल्लो १ महिना यताकै उच्च वृद्धि भएको छ। गत साउन ३० गते ५५.८८ अंकको वृद्धि पश्चात यस दिनको वृद्धि नै उच्च वृद्धि रहेको छ।
बुधबार नेप्से परिसूचक ४७.४४ अंक बढेर १९८१.४८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ९.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको शेयर कारोबार भएको बजारमा यस दिन २२७ स्टकको ३१ हजार २३ पटकको कारोबारमा १ अर्ब ४५ करोड ३८ लाख २४ हजार रुपैयाँ बराबरको ४६ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ग्रीन डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य २४ रुपैयाँ ९० पैसा बढेर २७३ रुपैयाँ ९० मा अन्तिम कारोबार भएको छ। त्यसैगरी, लिबर्टी इनर्जीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने युनाइटड मोदी हाइड्रोपावर, सामुदायिक लघुवित्त र गोर्खाज फाइनान्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यता एनआईसी एशिया फ्लेक्सी फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको साढे ६ करोडको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन गोर्खाज फाइनान्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र अपि पावरको ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन सबै उपसमूहको परिसूचक उकालो लागेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.९३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक ५.७५ प्रतिशत, विकास बैंकको ४.६२ प्रतिशत र जलविद्युतको ३.६२ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।







