काठमाडौं – सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयर आजदेखि बिक्री खुला गरेको हो ।
कुल सेयरमध्ये ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिने जानकारी दिइएको छ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असोज १२ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड छ । लगानीकर्ताले आईपीओमा मेरो सेयर एप र वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकामा रहेको मद्क्यु खोलाको पानीबाट १३ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजना पूर्ण रूपमा उत्पादनसहित सञ्चालन भइरहेको छ ।
कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ सम्म १० करोड ९५ लाख रुपैयाँ सञ्चित नाफा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ८६ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८२ पैसा रहेको छ ।







