काठमाडौं- साताको दोस्रो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधबार पनि घटेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ११.९७ अंक घटेर १९३९.८८ विन्दुमा झरेको छ।
त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.७० अंक, फ्लोट इण्डेक्स ०.८० अंक र सेन्सेटिभ फ्लोट ०.५२ अंक घटेको छ।
निरन्तर ओरालो लाग्न थालेपनि कारोबार रकम साढे ८२ करोडमा सीमित भएको छ। यस दिन २२४ स्टकको २० हजार ४५२ पटकको कारोबारमा ८२ करोड ६२ लाख ३० हजार रुपैयाँ बराबरको २९ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्सेसँगै भोल्यूम पनि घटेकोले लगानीकर्ताहरु शेयर बिक्री गर्न नचाहेको बुझिने लगानीकर्ताहरु बताउँछन्।
सनराइज फस्ट म्यु्चुअल फण्डको इकाईमूल्य सर्वाधिक ७.७२ प्रतिशत बढेको छ। त्यसैगरी, अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ६.३८ प्रतिशत बढेको छ भने लक्ष्मी उन्नती कोष र सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। प्राइम कमर्सियल बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ५.८८ प्रतिशत घटेको छ। त्यस्तै, उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य यस दिन ५ प्रतिशत घटेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य ४.४५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको यस दिन ४ करोड ६१ लाखको शेयर खरिदबिक्री भएको छ भने रिडी पावरको ३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
बुधबार म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.७८ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४३ प्रतिशत घटेको छ। त्यसैगरी, लगानी उपसमूहको परिसूचक १.३० प्रतिशत र विकास बैंक उपसमूहको परिसूचक १.०७ प्रतिशत घटेको छ।







