काठमाडौं- आगामी असोज महिनाको पहिलो शुक्रबार देखि सेयर कारोबार नहुने भएको छ । शुक्रबार सेयर कारोबार नगर्ने सम्बन्धमा आइतबार बसेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालक समितिको बैठकले निर्णय गरेको हो ।
लगानीकर्ताको माग, नियामक निकायको सुझाव र नेप्सेको कारोबार प्रणालीको मर्मतसम्भार गर्नुपर्ने भएकाले शुक्रबार सेयर कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बताए ।
‘असोजको पहिलो शुक्रबारदेखि नै सेयर कारोबार बन्द हुन्छ,’ उनले भने, ‘असोजदेखि पुरानो व्यवस्था अनुसार नै सातामा ५ दिन मात्र सेयर कारोबार हुनेछ ।’ सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा गरेपछि गत जेठदेखि नेप्सेले पनि आइतबारको सेयर कारोबार बन्द गरेर शुक्रबार खोलेको थियो । पछि सरकारले आइतबारको बिदा खारेज गर्यो । तर सेयर कारोबार भने शुक्रबार पनि भइरहेको थियो । अहिले सेयर लगानीकर्ताको चर्को दबाबका बीच शुक्रबारको सेयर कारोबार बन्द गर्न लागिएको स्रोतले बताएको छ । हाल सातामा ६ दिन सेयर कारोबार हुँदै आएको छ ।







