काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य बढ्दा स्वचालीत मूल्य प्रणाली तर घट्दा नेपाल आयल निगम मौन रहने गरेको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाएर पठाएको थियो ।
त्यस बेला खुद्रा बिक्री मूल्य यथावत् राखेको निगमले भाउ बढेर आएलगत्तै बिहीबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य ६र६ रुपैयाँले बढाएको हो ।
‘भदौ १६ गते प्राप्त मूल्यअनुसार पेट्रोलमा १ रुपैयाँ १९ पैसा, डिजेलमा ६ रुपैयाँ १२ पैसा, हवाई इन्धनमा ८ रुपैयाँ १ पैसा बढेर आएको छ । मट्टीतेल र ग्यासको मूल्यमा केही घटेर आए पनि ग्यासमा अझै प्रतिसिलिन्डर ३ सय ७८ रुपैयाँ ७ पैसा घाटा छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिलिटर डिजेलमा ११ रुपैयाँ १८ पैसा घाटा र पेट्रोलमा २ रुपैयाँ ८२ पैसा नाफा छ । समग्र्रमा निगमलाई १५ दिनमा ४८ करोड २४ लाख घाटा हुने स्थिति छ ।’
अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ । मूल्य वृद्धिपश्चात् निगमको पाक्षिक नोक्सानी ३० करोड ५२ लाख छ । निगमले पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखेको छ ।








