काठमाडौं – नेप्से परिसूचक १८.३० अंक घटेर २०३९.५४ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.७८ अंक, फ्लोट इण्डेक्स १.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ।
नेप्से ओरालो लागेपनि आज कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ५२ करोडको शेयर कारोबार भएको बजारमा आज २१९ स्टकको ३२ हजार ९४६ पटकको कारोबारमा १ अर्ब ७१ करोड ७४ लाख रुपैयाँ बराबरको ४२ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बजार ओरालो लागेपनि अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३३ रुपैयाँ १० पैसा बढेर ३६४ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, रु रु जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ५.८२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन मल्टीपपर्स फाइनान्स, खानीखोला हाइड्रोपावर र सूर्योदय वामी लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड २४ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन रिडी पावरको ९ करोड ४१ लाखको शेयर कारोबार भएको छ भने नेष्डो समृद्ध लघुवित्तको ८ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २।२० प्रतिशत घटेको छ। त्यसैगरी, य सदिन वित्त उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।







