काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै २ अर्ब रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब १६ करोड बराबरको नाफा गरेको हो ।
वर्षायाममा भारतमा बढी बिजुलीको माग हुने भएकाले प्राधिकरणले आवश्यकताका आधारमा बिजुली निर्यात गरिरहेको छ । यस्तै प्राधिकरणले थप एक सय ११ मेगावाट बिजुली निर्यातका लागिसमेत प्रयास गरिरहेको छ । प्राधिकरणले चालु आवको पहिलो महिना अर्थात् गत साउनमा रु एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार बराबरको बिजुली निर्यात गरेको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत् निर्यातबाट गत साउनमा औसतमा दैनिक रु पाँच करोड ९३ लाख कमाउन प्राधिकरण सफल भएको छ ।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री शुरू गरेको थियो । शुरूमा नुवाकोटका दुई विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ गतेदेखि दैनिक रूपमा विभिन्न छ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानेर बिजुली निर्यात भएको छ ।







