काठमाडौं – आज कारोबारको अधिकांश समय सकारात्मक रहेपनि अन्तिम समयमा भने बिक्रीचाप बढी नेप्से ओरालो लागेको हो।
नेप्से परिसूचक ७.७२ अंक घटेर २०६०.५५ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.४९ अंक र फ्लोट इण्डेक्स ०.२३ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक बढेको छ।
२१८ स्टकको ४३ हजार ४५५ पटकको कारोबारमा २ अर्ब ४ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको ५३ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से ओरालो लागेपनि दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, श्वेतगंगा हाइड्रोपावर र सोल्टी होटलको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले बढेको छ। कारोबारमा आएको रिभर फल्स पावर कम्पनी र हिमालयन हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीकोा १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, अपि पावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको घटेको छ। बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो। यता जलविद्युत, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।







