काठमाडौं – आज नेप्से परिसूचक ५५.८८ अंकले उकालो लागेको छ । आजको बजारमा लगानीकर्ताहरूको चाप फाइनान्स कम्पनीहरूमा देखिएको छ। नेप्से परिसूचक २.७८ प्रतिशतले बढेर २०६५.८९ बिन्दुमा बन्द भएको छ।
समूहगत आधारमा फाइनान्स कम्पनीहरूको समूह सबैभन्दा धेरै ७.३८ प्रतिशतले बढेको छ। यसरी मूल्य बढेर सर्किट ब्रेक लाग्ने प्रमुख दुई कम्पनीमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र मल्टीपर्पस फाइनान्स रहेका छन्। यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ।
श्री इन्भेष्टमेन्ट कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा भने १९ प्रतिशतले घटेर ९ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ।
श्री इन्भेष्टमेन्टको एक वर्षको अधिकतम मूल्य ७४१ रुपैयाँ छ। नाफा घटेपनि सेयरमूल्य समेत उच्च मूल्यबाट आधा नै सस्तो भएको कारण लगानीकर्ताहरू आकर्षित भएका हुन सक्छन्।
१० प्रतिशतले नै मूल्य बढेको मल्टीपर्पस फाइनान्सको समेत नाफा करिब ४० प्रतिशतले घटेर ४० लाखमा सीमित भएको छ। एक वर्षमा ६९६ रुपैयाँमा उच्च मूल्य कायम गरेको कम्पनीको सेयर आधाले सस्तो भएकाले लगानीकर्ताहरू आकर्षित भएका हुन् ।यी कम्पनीमा मूल्य बढ्दा र घट्दा उच्च उतारचढाव देखिएको छ।
आज कारोबारमा आएका २१५ वटा धितोपत्र तथा ऋणपत्रको ६० लाख २६ हजार १९२ कित्ता सेयरको २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।
सोमबार राधी विद्युत कम्पनी, रिभर फल्स पावर, पञ्चकन्या माई हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर, हिमालयन उर्जा लगायतका कम्पनीको सेयर मूल्य पनि सर्किट लेभलमा बढेको छ।
आज सेयर मूल्य सर्वाधिक घट्नेमा रिडी पावर कम्पनी रहेको छ। कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ६३७ रुपैयाँमा झरेको छ।
सर्वाधिक सेयर खरिद–बिक्री भने शिवम् सिमेन्टको भएको छ। कम्पनीको २१ करोड २ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता तीन हजार ६९२ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २.१२ प्रतिशतले घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको ६८५ रुपैयाँमा १२ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ७.३८ प्रतिशतले बढेको छ।
त्यस्तै, विकास बैंकको ५.३२, अन्यको ५.९, जलविद्युतको ४.४३, व्यापारको ४.३८, निर्जीवन बीमाको ३.१६, होटल्स तथा पर्यटनको ३.११, लघुवित्तको २.९८ र लगानी समूहको परिसूचक २.८१ प्रतिशतले बढेको छ।







